
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८ लाख ९० हजार कित्ता सेयर जारी गरेको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणको सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिने कम्पनीले जनाएको छ।
सेयर निष्काशन तथा आवेदनको मुख्य विवरण
| विवरण | आयोजना प्रभावित स्थानीय बासिन्दा | वैदेशिक रोजगारीमा रहेका नेपाली |
| निष्काशन हुने सेयर कित्ता | ८,००,००० कित्ता | ९०,००० कित्ता |
| आवेदन दिन पाउने क्षेत्र/समूह | काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका वडा नं. ७ का बासिन्दा | श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली |
| न्यूनतम तथा अधिकतम आवेदन | १० कित्तादेखि १०,००० कित्तासम्म | १० कित्तादेखि ७,००० कित्तासम्म |
| आवेदन बन्द हुने छिटो मिति | मंसिर २४ गते | मंसिर १५ गते |
| आवेदन बन्द हुने ढिलो मिति | पुस १३ गते | मंसिर २४ गते |
| आवेदन दिने माध्यम | मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा वा मेरो सेयर | आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर अनलाइन प्रणाली |
पुँजी संरचना र आईपीओको रकम उपयोग
आईपीओ निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। सेयर बिक्रीबाट संकलन हुने पुँजीमध्ये १३ करोड रुपैयाँ ऋण भुक्तानी गर्न र ४ करोड रुपैयाँ नयाँ मेसिनरी खरिद गर्न उपयोग गरिने कम्पनीको विवरणपत्रमा उल्लेख छ।
विशेषगरी ‘माल्ट फिड’ तथा ‘बोलुस ए पी’ उत्पादनका लागि नयाँ मेसिन जडान तथा सञ्चालनमा ल्याउने कम्पनीको योजना छ। नयाँ मेसिन जडान भएसँगै हालको उत्पादन क्षमता डेढदेखि दुई गुणासम्म वृद्धि हुने अनुमान गरिएको छ।
कम्पनीको वित्तीय अवस्था र रेटिङ
पशुपक्षीका लागि आवश्यक आहारपूरक तथा औषधि उत्पादन गर्दै आएको कान्तिपुर फर्मास्युटिकल्सले आर्थिक वर्ष २०७७/७८ देखि एलोप्याथिक औषधि उत्पादन सुरु गरेको हो। हालसम्म कम्पनीले १०२ प्रकारका एलोप्याथिक औषधि उत्पादन गर्ने अनुज्ञापत्र प्राप्त गरिसकेको छ। आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कम्पनीका प्रमुख सूचकहरू यसप्रकार छन् :
- सञ्चालन आम्दानी : ५३ करोड ४० लाख रुपैयाँ
- खुद नाफा : ८ करोड ७४ लाख रुपैयाँ
- प्रतिसेयर आम्दानी (EPS) : १३ रुपैयाँ ८८ पैसा
- प्रतिसेयर नेटवर्थ : १२६ रुपैयाँ ७२ पैसा
- आन्तरिक प्रतिफल दर (IRR) : २४.२७ प्रतिशत
- लगानी फिर्ता हुने अवधि : साधारण ४.५० वर्ष र डिस्काउन्टेड ५.७१ वर्ष






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



