निर्यात साढे १० प्रतिशतले बढ्यो, चीनतर्फको निर्यात भने ५४.९ प्रतिशतले घट्यो

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको नेपाल राष्ट बैंकले जनाएको छ ।
वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर रु.१७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्पm नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तोघाटामा २४.९ प्रतिशतले कमी आई रु.१५८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।