आज दशैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । आज दशैंको सातौं दिन । सातौं अर्थात सप्तमी तीथिको यो विशेष दिनमा घर घरमा ‘शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैं छ ।

आजको दिनमा देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा गरिन्छ । कालो वर्णकी, तीनवटा आँखा र चार हात भएकी उनले चारवटै हातमा तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगोको ज्वाला निकाल्ने देवीले रक्तविज नाम गरेको दैत्यको संहार गरेको मानिन्छ ।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका फूलपाती भित्र्याउने गरिन्छ । साथै कालरात्रि देवी, विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गर्ने चलन छ । सातौं दिन दुर्गा माताको सातौं स्वरुप कालरात्रिको विधिपूर्वक पूजा गरेर गणेश स्थापना गरिएको कलशको छेउमा नौवटा ससाना ढुङ्गाहरु नवदेवीका प्रतिमाको रुपमा राखेर नैवेद्य, फलफूल चढाउने गरीन्छ ।

नेपालकाे एकिकरणपछि एकता र सांस्कृतिक प्रतिकको रुपमा गोर्खाबाट काठमाण्डौको हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिरस्थित दशैघरमा धादिङ्ग हुँदै फूलपाती भित्र्याउने चलन रहेको छ । गोर्खामा जम्मा गरेको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने गरीएकाे छ ।