
टीकापुर, ८ कात्तिक । टीकापुर नगरपालिका १ एकतानगर शिविरकी धनकला विक धान बोकेर मिल दौडिइन । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागे र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिलमा गएकी हुन ।
दशैंमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन । ‘‘दशैं आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भनिन, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर पर्यो, पछि पल्लो घरकी दिदीले धान दिइन । अब दशैंमा भोकै रहनु पर्दैन ।’’
धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्थिन । कोरोना संक्रमण फैलन थालेपछि उनी काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको रोजीरोटी र तीन छोराछोरी पाल्ने आधार बन्द भयो । सात महिनादेखि रोजगारीविहीन धनकलालाई रु ५० हजारभन्दा बढी ऋण लागिसकेको छ ।
‘‘भारतमा रोजगारीका सिलसिलामा रहेका श्रीमान् पनि घर फर्किएका छन् । मेरो कामकाज पनि छैन, गाउँमै ज्यालादारी गरौँ भने पनि पाइँदैन’’, धनकला भन्छिन् , ‘‘अब के खाने ? के दशैं आउँथ्यो, अब भोकै मर्ने चिन्ताले सताउन थाल्यो ।’’ टीकापुर –१ कै सन्देश चौधरीको परिवारमा पनि साँझबिहानकै छाक टार्न समस्या भएको छ । सन्देश दैनिक ज्यालादारीमा काम गर्छन् । सन्देशका छोराछोरीले पनि दशैंमा मासु खाने र नयाँ लुगा लगाउने अपेक्षा गरेका छन् तर उहाँसँग राम्ररी खाना खुवाउन सक्ने आर्थिक जोहो छैन । ‘‘म घरघरमा दाउरा चिर्ने काम गर्थें, कोरोना महामारीपछि अचेल मानिसले बोलाउनै छाडे’’, सन्देश भन्छन, ‘‘आफ्नो जग्गाजमीन छैन, काम पाइँदैन, अनि छोराछोरीको पेट कसरी भर्नू ?’’ धनकला र सन्देशका घरमा मात्र होइन विपन्न बस्तीका धेरै नागरिकका घरमा यस वर्ष दशैंमा चुल्हो बल्न मुश्किल छ । यहाँका धेरै नागरिक होटल, घर सरसफाइ, ज्यालादारीको गर्थे । यी सबै काम बन्द छन् ।
‘‘यहाँ दशैं होइन दशा आएको छ । अलिअलि हुनेले छोराछोरीलाई नयाँ लुगा, सरसामान किनमेल र माछामासु खाएको देख्दा नहुनेको मन कुँडिएको छ’’, स्थानीयवासी रुपकेश सुनार भन्छन्, ‘‘धनी र गरीबसँगै बस्नु राम्रो रहेनछ, देखासिकी र तडकभडकले विपन्नलाई पीडा दिन्छ ।’’ रुपकेशले भएकाले नभएकालाई खुवाएर, बाँडीचुँडी गरेर दशैँ मनाउनाको साटो यहाँ देखासिकी गर्ने चलनले चाडपर्वले ऋणको भारी बोकाउने गरेको बताए । कोरोना संक्रमणका कारण लकडाउन भएपछि अतिविपन्न परिवारलाई यहाँका स्थानीय सरकारले खाद्यान्न वितरण गरेका राससले लेखेकाे छ ।
एकतानगरकी सुदीक्षा दमाई दशैं, तिहारजस्ता पर्वमा स्थानीय सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गर्छिन । ‘‘सरकार नजीकै छ । हामी भोकै मर्ने अवस्था आइसक्यो’’, ‘‘पहिले पहिले मागेर खान्थ्यौँ, आजभोलि अरुका घरमा जान नि डर लाग्छ । यस्तो बेलामा राहत दिए कति खुशी हुने थियौं ।’’ कैलालीका धेरै नागरिक रोजगारीका सिलसिलामा भारत जान्छन् । परिवार यता बस्ने, पुरुषले कमाएको रकमले धेरैको घर चल्छ । कोरोना महामारीपछि मात्रै भारत तथा विदेशमा रहेका चार हजार नेपाली टीकापुर फर्किएका छन् ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



