
बैतडी, ८ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका छन् । गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक हजार छ सय ७७ पुगेको छ।
सूचीकृत हुनेमा छ सय १३ महिला तथा एक हजार ६२ पुरुष रहेका छन् । दशरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीका अनुसार सूचीकृत भएका सबैको नाम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि प्राथमिकताका आधारमा एक सय दिनको रोजगारी पाउने जोशीले बताए । उनले भने, “मन्त्रालयले कार्यविधि पठाए पछि तिहारलगत्तै काम सुरु हुन्छ ।”
सरकारले स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । फाराम भरेका बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएकालाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिँदै आएको छ ।
एउटा आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइन्छ । नगरपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्र्तगत रु ५१ लाख बजेटको ब्यवस्था गरिएको छ । गत वर्ष दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा रु २८ लाख बजेटको ब्यवस्था गरिएको जोशीले बताए । गत वर्ष नगरपालिकाले पाँच सय जनालाई रोजगार प्रदान गरेको राससले लेखेकाे छ ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



