राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको मुद्यती निक्षेपमा १ अर्ब २७ करोड लगानी गर्दै

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने बताएकाे छ । साे रकम राष्ट्रिय स्तरका वित्त कम्पनी, विकास बैंक तथा वाणिज्य बैंककाे मुद्यती निक्षेपमा लगानी गर्ने भएकाे हाे । यसका लागि २०७७ मंसिर २ गतेदेखि २०७८ साउन ३२ सम्म २७३ दिनका लागि मुद्यती निक्षेपको रुपमा लिन चाहेको रकम खोलेर बैंकमा २०७७ कात्तिक १६ गतेसम्म बोल कबोल पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख, ‘ख’ वर्गका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख गरी कुल १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने र राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्ने जनाइएको छ । यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा र स्वदेशी निक्षेप, प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने भएकाे छ ।

शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्नेछ । समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने शर्तहरु राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।