राष्ट्र बैंकले मुद्यती निक्षेपमा २५ करोड २६ लाख लगानी गर्दै

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २५ करोड २६ लाख रुपैयाँ मुद्यती निक्षेपमा लगानी गर्ने बताएको छ । उक्त रकम २०७७ मंसिर २ गतेदेखि २०७८ कात्तिक ३० सम्म ३६५ दिनका लागि मुद्यती निक्षेपमा लगानी गर्न लागेको आज प्रकाशित सूचनामा जनाएको छ ।

बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी क बर्गका वाणिज्य बैंकहरु, ख बर्गका राष्ट्रिय स्तरका विकास बैंकहरु र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई तोकिएको अवधिमा शिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने जनाएको छ । यसका लागि २०७७ कात्तिक १८ गते अपरान्ह २ वजेसम्मको समय तोकिएको छ ।

राष्ट्र बैंकले क बर्गका वाणिज्य बैंकमा २० करोड २१ लाख, ख बर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ७८ लाख र ग बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि १ करोड २७ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजत लिएका वाणिज्य बैंक, विकास बैंक तथा वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको व्याजदर खुलाई बैंकले राखेका शर्तहरुको पालना गर्नुपर्ने जनाईएको छ ।

बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पुरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । आर्थिक वर्ष २०७६/२०७७ मा सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सिमाभन्दा बढी नभएको लगायतका शर्तहरु लागु हुने जनाईएको छ ।