
तस्बिर: अशेष शाक्य
पोखरा, १६ कात्तिक । धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्ने याेजना अनुरूप पोखराको पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ति जडान कार्य जारी छ ।
भारतबाट ल्याइएको अष्ठधातुजडित फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति लिफ्ट र क्रेन सहयोगमा जडान जारी रहेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवर्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । उनका अनुसार कात्तिक महिनाभर सो मूर्ति जडान भइसक्नेछ । मूर्ति जडानका लागि भारतबाटै कालिगढी झिकाइएको छ ।
भारतको मथुरामा निर्मित सो मूर्ति जडानमा हाल २० जना कामदार खटिएका छन् । सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्ति भारतबाट १२ वटा गाडीमार्फत असोज २५ मा पुम्दीकोटसम्म पुर्याइएको थियो । पोखरा महानगरपालिका वडा २२ अन्तर्गत पर्ने पुम्दीभुम्दीको चुली पुम्दीकोटमा सो मूर्ति निर्माणपछि पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । निर्माण समिति अध्यक्ष बराल भन्छन्, ‘धार्मिक एवं पर्यटकीय महत्वको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण लगायत अनेकौं संरचना निर्माणपछि पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ अवधि लम्बिने हाम्रो विश्वास छ । साथै यस आसपासको क्षेत्रमा धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सघाउ पुग्नेछ ।’

पुम्दीकोटको विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना रहेकोमा कोरोना महामारी लगायत विविध समस्याका कारण लागत बढेर ४५ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ । हालसम्म १३ करोड रुपैयाँको कार्य (करिब ४० प्रतिशत कार्य) सम्पन्न भसकेको छ । मूर्ति जडानसँगै करिब २० करोडको काम भइसक्ने बरालले बताए । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने योजनाअन्तर्गत शिलान्यास भइ कार्य सुरु भएको साढे २ वर्ष बितिसकेको छ । हाल समितिले १८ वटा एट्याच वाथरुम सहितका सटर निर्माण गरेको छ । यस्तै गुरु महाराजको आश्रम, १ सय ८ शिवलिङ्ग निर्माण, शिवजीको सिला निर्माण भएको छ भने ग्रिनरी पार्क, पार्किङ, तारवार, रेलिङ, स्मृतिपार्क लगायतका भौतिक संरचना बन्दैछन् ।
नेपालमा यसअघि काठमाडौंको साँगामा सबैभन्दा अग्लो १०८ फिटको विशाल मूर्ति छ । पुम्दीकोट आफैमा शिखरमा रहेको र १०८ फिटकै अग्लो मूर्ति निर्माण गरिने पूर्व योजना भए पनि हवाई उड्डयन प्राधिकरणको अनुमति नमिल्नु र कतिपय विविध समस्याले ५१ फिटको मूर्ति निर्माण गरिएको हो । सो मूर्ति भारतका कलाकार पिपुल अग्रवालले बनाएका हुन् भने हिल ट्याङ्क प्रालिका प्रबन्ध संचालक उद्योगपति एवं समाजसेवी कमल जयनले प्रायोजन गरेका हुन् ।
मूर्ति राख्ने स्ट्याण्ड निर्माणमा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा बेल्फेयर सोसाइटीका मुरलीधर रुंगटाले आर्थिक सहयाेग गरेका हुन्। समितिका अध्यक्ष बराल, समाजसेवी जयन, व्यवसायी रुंगटाले जनही एक-एक करोडभन्दा बढी उक्त मूर्ति निर्माणमा योगदान दिएका हुन् ।
मूर्ति स्थापनासंगै समितिले पहिलो चरणको कामअन्तर्गत मूर्ति जडान सहितको एक सय आठ स्वर्गद्वारी सिँढि, ढुंगा बिछ्याउने, रंगरोगन, फिनिसिङ लगायतको काम गर्न थप २ करोड रकम जोहो गर्नुपर्ने समितिका अध्यक्ष बरालले बताए ।

समितिले आर्थिक संकलनका लागि २०७३ साल फागुन ३ देखि १३ सम्म पुम्दीकोटमा महादेव पुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरेको थियो । महायज्ञबाट मात्रै ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो। महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड रुपैयाँ उठन् बाँकी रहेको बताइएको छ ।
सो बृहत योजना सफल बनाउन संघीय सरकारले साढे ४ करोड, पोखरा महानगरपालिकाले डेढ करोड, गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ सहयोग गरेको छ । कुल २२ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गा समितिले ३० वर्षको लागि नेपाल सरकारसँग भाडामा लिएको हो ।
पुम्दीकोटबाट पोखराबजार, फेवाताल, अन्नपूर्ण, माछापुच्छे, नीलगिरि, धौलागिरि, मनास्लु लगायतका हिमाल, विश्वशान्ति स्तुपा, सराङ्कोट, काहुँडाडा, हिमश्रृङ्खला, हरियोवन, विभिन्न प्रजातिका बिरुवा, चराचुरुङ्गी समेत देख्न सकिन्छ ।
सो स्थानमा केही वर्षअघि स्थानीयवासी समेत रहेका प्रदेश सांसद रामजी बरालको सक्रियतामा भ्यूटावर निर्माण गरिएको थियो । सो पश्चात् गरिमा विकास बैंकका अध्यक्ष समेत रहेका समाजसेवी चन्द्रकान्त बराल लगायत स्थानीयको सक्रियतामा विशाल महादेवको मूर्ति निर्माण अवधारणा आएको हो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



