राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित



कठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक २० गते २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने जानकारी गराएको छ । बैंकले निष्काशन गर्न लागेको विकास ऋणपत्र २०८७ ‘घ’ को समयावधि १० वर्षका लागि रहेको छ ।

सरकारलाई आवश्यक रकम जुटाउन केन्द्रीय बैंकले बिक्री गर्न लागेको विकास ऋणपत्र खरिद गर्नका लागि बैंक, बित्तीय संस्था, बीमा कम्पनी, गैर बैंक, संगठित संस्था र नेपाली नागरिकले राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागमा आवेदन गर्न गर्नुपर्ने छ ।

ऋणपत्र खरिद गर्नका लागि खरिदकर्ताहरु प्रतिष्पर्धा वा प्रतिष्पर्धा नगरि सहभागि हुन पाउने भएका छन् । प्रतिष्पर्धा गरेर आउने खरिदकर्तालाई निष्काशन भएकाे रकमको ८५ प्रतिशत [१७ अर्ब] र प्रतिष्पर्धा नगर्नेका लागि १५ प्रतिशत [३ अर्ब] रुपैयाँ छुट्याईएको छ । यसका लागि बोलकबोल समय कात्तिक १९ गते अपरान्ह २ वजेसम्म रहेकाे छ । लगानीकर्ताले अनलाइन बिडिङ्ग सफ्टवेयरबाट बोलकबोल पेश गर्नुपर्ने भएको छ । यो विकास ऋणपत्र कात्तिक २० गते निष्काशन हुनेछ । साँवा भुक्नाती २०८७ कात्तिक २० गते हुने भएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याज बोलकबोल भए अनुसार तय हुने र ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने जनाइएकाे छ । साथै आर्जित ब्याजमा ब्याजकर लाग्ने भएको छ । बैंकका अनुसार ऋणपत्रलाई धितो राखेर बैंक तथा बित्तिय संस्थाबाट कर्जा लिन र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् खरिद बिक्री गर्न सकिने भएकाे छ ।

बाेलकबोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार राष्ट्र बैंकको खुला बजार संचालन समितिलाई हुने भएको छ ।