सांसद सूर्यबहादुर केसीको निधन

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ कात्तिक । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति निधन भएको छ । उनको ६३ वर्षको उमेरमा आफ्नै निवास पोखरा महानगरपालिका वडा ७, एयरपोर्टमा राति साढे १० बजे निधन भएको हो ।

२०१४ जेठ १० मा जन्मिएका केसीमा पछिल्लो मधुमेह, उच्च रक्तचाप समस्या थियो । स्व. केसीको श्रीमती, ३ छोराबुहारी, ६ जना नातिनातिना छन् ।

‘चिसोमा बढी नै समस्या हुन्थ्यो । मान्छेको निगरानीमा बस्नुपर्ने हुन्छ,’ उनका कानुनी सल्लाहकार वीरेन्द्र केसीले भने, ‘अहिले पनि सुगर डाउन भएर निधन भएको हुन सक्छ ।’

पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी केसी नेपालको राजनीतिक अगुवाका रुपमा परिचित उनी सनातन हिन्दू धर्मका पक्षपाति थिए ।

प्रतिनिधिसभा सदस्य चुनावताका राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् । उनी पहिलो संविधानसभा सदस्य चुनावमा राप्रपाबाट सांसद बनेका थिए । उनी सानै उमेरमा पोखराको नगरपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।

बाबुको शोकमा ३ भाइ छोराहरु प्रकाश, किरण र रोशन केसी । तस्वीर: सफल आवाज

पोखराका सफल उद्योगीका रुपमा परिचित केसीले नेपालमै पहिलो पटक चाउचाउ भित्राएका थिए।

माछापुच्छे् बैंकको संस्थापक अध्यक्ष केसीको बैक, उधाेग, हाइड्रोपावर, शिक्षा, व्यापार, निर्माण लगायतमा लगानी छ । उनको गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि, युनाइटेड इदि मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि, नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज लगायत दर्जनौं कम्पनीमा आबद्धता थियो । सामाजिक कार्य भनेपछि हुरुक्कै हुने केसी दर्जनौं सामाजिक संघसंस्थामा समेत संलग्न थिए ।

उनको मंगलबार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

केसी निवास पोखरा ७ एयरपोर्ट । तस्वीर: सफल आवाज