उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी दर्ता

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल प्यानलबाट विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्ष पदमा रामचन्द्र संघाईले मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकुमा उम्मेदवारी दर्ता गरेका हुन्।

यस्तै, केन्द्रीय सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठको उम्मेदवारी परेको महासंघले जनाएको छ ।

यसअघि वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित सबै उपाध्यक्षमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् ।

महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औँ साधारणसभा तथा निर्वाचन कोभिड–१९ संक्रमणका कारण स्थगित भएको थियो।

पछि पटक–पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौँमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

महासंघको चुनावका लागि उम्मेदवारहरुले मंसिर ४ सम्म मनोनयन पत्र दाखिला गर्ने समय तोकिएको छ ।

मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था छ ।