फोटो पत्रकार वन्तको ‘परदेशीको पीडा’ म्यूजिक भिडियो सार्वजनिक

-


     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


काठमाडौं, २१ कात्तिक । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ । फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित सो म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक र वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेले संयुक्त रुपमा विमोचन गरेका हुन ।

गायक विनोद दनुवारले स्वर दिएको सो म्यूजिक भिडियोमा फोटो पत्रकार वन्त र मोडल तथा जुम्ब प्रशिक्षक सोनाम केसीको अभिनय रहेकाे छ । भिडियोमा नवीनबाबु गुरुङको निर्देशन तथा छायाङ्कन रहेकाे छ । सहायक निर्देशन रेजिना तुलाधर र सम्पादन नवीन निरौलाको छ । राससमा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यावसायिक एवं दक्ष फोटो पत्रकारका रुपमा स्थापित गर्दै मोडलिङमा पनि प्रवेश गरेको बताए ।

प्रतियोगितात्मक विभिन्न कार्यक्रम श्रृङ्खला चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशक हुन भने फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, पत्रकारको हकहित र अधिकारका लागि क्रियाशील रहेका छन । कलाक्षेत्रमा केही योगदान गर्न सक्छु भन्ने मान्यताले आफू यस क्षेत्रमा आएको म्यूजिक भिडियोका मोडल वन्तले जानकारी दिए । “फोटो पत्रकारिता पनि कलाको एउटा रुप हो, त्यसैले आफूलाई डो¥याएर यता ल्याएको छु, नेपाली शैलीका गीत र सङ्गीतलाई प्रश्रय दिन चाहन्छु”, उनले भने ।

कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेतालाई ताज लगाउनाका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।