जति संक्रमित, त्यति निको

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमित थप भएका छन् । यस्तै सोही संख्यामा निको पनि भएका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२ हजार ३ सय ११ परीक्षणमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यसैगरी हाल देशभर ३५ हजार ४ सय १९ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्र आइतबार १ हजार ५ सय ३३ जना संक्रमित थपिएका छन् । तीमध्ये ७ सय १० महिला र ८ सय २३ पुरुष छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ कोरोना संक्रमित निको भए । योसहित निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ । यो कुल संक्रमितको ८१ दशमलब १ प्रतिशत हुन आउँछ ।

२१ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो । यसअघि शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ८ पुगेको छ ।