महासंघकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालकाे चुनावी भेला पाेखरामा, सधैं व्यवसायीकाे साथमा रहने प्रतिबद्दता

-


     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


पाेखरा, २४ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल यतिबेला आफनाे समुह सहित जिल्ला भेलामा व्यस्त भएका छन् । पाेखरामा भएकाे भेलामा ढकालले आफु सधैं व्यावसायीक हकहितकै पक्षमा रहेकाे बताएका छन् । उपाध्यक्ष ढकालले भने, ‘यसअघि अरुले के गरे मलाई थाहा भएन तर म सधैं व्यवसायीकाे पक्षमा छु र रहिरहने छु ।’

वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि सक्षम र दाबेदार रहेको बताए । विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष विताएको भन्दै अब आफुले नेतृत्व गर्न पाउने दावी गर्दै आएका छन्,’ उनले भने, ‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि आफैले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । विश्वास र समर्थन आवश्यक पर्छ ।’

ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेपछि संस्थाको गरिमा र प्रतिष्ठालाई अझैं उँचो बनाउने काममा सशक्त भएर लाग्ने बताए । ढकालले भने, आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे ।

कार्यक्रममा उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले नेपाल उद्याेग वाणिज्य महासंघ गण्डकीले स्थापना गरेकाे अक्षय काेषकाे लागि २ लाख सहयाेग प्रदान गरेका थिए । पछि काेषमा ३ लाख थपेर पाँच लाख पुयार्उने उनले बताए । उक्त रकमकाे चेक ढकालले महासंघका उपाध्यक्ष माेतीप्रसाद पाैडेललाइ हस्तान्तरण गरेकाे महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर काेइरालाले बताए । यसअघि ढकालले नेपालगञ्ज, गुलरीया, बुटवल, नवलपरासी, नवलपुर,चितवन लगायतका उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा सरिक भइसकेका छन् ।