कास्कीमा देउसी भैलाे खेल्न नपाइने, अवज्ञा गरे कारबाही

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमणको जोखिम कास्कीमा दिन प्रतिदिन बढ्दै गएकोले चाडपर्वकाे समयमा भिडभाड हुने देउसी भैलाेका कार्यक्रम गर्न राेक लगाएकाे छ ।

चाडपर्वका कार्यक्रम घरपरिवारका सदस्यहरुसंग सिमित भएर मनाउन सूचनामा जनाइएकाे छ । सूचनाको अवज्ञा गरेको खण्डमा संक्रामक रोग, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिईएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आज एक अत्यन्त जरुरी सूचना जारी गरी देउसी भैलोका कार्यक्रम आयोजना नगर्न नगराउन र भिडभाड गर्न रोक लगाएको जनाएका छन् । यस्तै, जिल्लाभित्र कुनै प्रकारका मेला, महोत्सव तथा व्यापारिक केन्द्रहरुमा भिडभाड नगर्न नगराउन भनेका छन् । आतसवाजी, पटाका, झिरझिरे, भूईँचम्पा लगायतका विष्फोटनजन्य पदार्थहरुको ओसारपसार, विक्री वितरण र प्रयोगलाई निषेध गरिएकाे छ ।

कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न गराउन भनिएको छ । यस्तै, सामाजिक भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा माक्स लगाउने, नियमित रुपमा साबुन पानीले पटक पटक हात धुने वा स्यानिटाइजरकाे प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी सूचनाको अवज्ञा गर्ने र गराउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।