चिनियाँ नाका खुलाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाका सहज रुपमा खुलाउन माग गरेको छ।

महासंघका अध्यक्ष नरेश कटुवालले मंगलबार विज्ञप्ति जारी गरी १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहजरुपमा नेपाल भित्रिन नसकेको भन्दै नेपाल सरकारले सो खुलाउन कुनै कुटनीतिक पहल गर्न नसकेको टिप्पणी समेत गरेको छ ।

‘नाकाहरुमा अहिले पनि धेरै कन्टेनरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुई वटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रिन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनीतिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्यधिक भाडावृद्धि तथा नाकामा रहेको सिन्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारसमक्ष बिनम्र अनुरोध गर्न चाहन्छौं । यदि यी समस्याहरु समाधान नहुने हो भने महासंघमा आबद्ध उद्योगी व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं ।’