नेप्से दोहोरो अङ्कले वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो ।

नेप्से उकालो लागेर कारोबार रकम समेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ । स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ ।