१११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको काम जारी

-



     सफल आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित



रसुवा, १ कात्तिक । १३ अर्ब ६४ करोडकाे लागत रहेकाे १११ मेगावाट क्षमताकाे निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गरेर अगाडी बढेकाे छ । विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको छ ।

एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका कोभिड–१९ सम्बन्धी मापदण्ड पालना गरेर कामहरू अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिएका छन् ।

आयोजनाको निर्माणस्थलमा २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत छन् । कोरोना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार भने ल्याउन सकेको छैन । सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण जडान हुन सकेको छैन । उक्त कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित भएको छ ।

कोरोनाको समस्या देखाउँदै कामको जिम्मा लिएको कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत्गृहको पानी बाहिर पठाउने ०.३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैंक मात्र निर्माण गर्न मात्र बाँकी रहेको छ । रु १३ अर्ब ६४ करोडकाे लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माण पक्षले बताएकाे छ ।