किजा पूजाकाे अवसरमा मंगलबार सार्बजनिक बिदा

-



     सफल आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ मङ्सिर । किजापूजाकाे अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएकाे छ । यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन् । एकथरि नेवार समुदायले आइतबार म्हःपूजा गरेका छन् भने अर्काथरिले भने आज गर्दैछन् ।

आज नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने भएका छन् । किजापूजाका लागि भन्दै सरकारले मङ्सिर २ गते मङ्गलबार सार्वजनिक बिदा पनि दिएको छ । सबै सरकारी कार्यालय,शैक्षिक संस्था, संघ-संस्था तथा सार्बजनिक निकायमा बिदा दिइएकाे हाे ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा र शास्त्रीय मान्यता भएको धर्मशास्त्रविद्,नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रही आएकाे छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवारी समुदायमा साँझ म्हः (आत्म) पूजा गर्ने परम्परा हाे । बगलामुखी पात्रोका पञ्चाङ्गकार शशिधर जोशीका अनुसार यस वर्ष आइतबार साँझमै शुक्ल प्रतिपदा परेकाले पूजा भएकाे छ ।