
लमजुङ, ३ मङ्सिर। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीया सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्युपश्चात मृतक गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा लगिएकाे छ । ११ जना घाइतेमध्ये चार गम्भीर र सात जना सामान्य घाइते रहेकाे प्रहरीले बताएकाे छ।
प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका वडा नं ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन् । सोही जीपका चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् । घाइते ११ जनाको पनि उक्त सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको छ । रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक पुनको भनाइ छ । उनका अनुसार जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको छ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



