ओलीले मागे समय, नेकपा सचिवालय बैठक अब १० दिनपछि

-



     सफल आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ मङ्सिर: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेका हुन्।

आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए।

नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ ।

यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री पक्षधर नेताहरूले प्रतिवेदन फिर्ता लिनु पर्ने बताएका थिए।