२२ अर्ब लगानीमा तमोर-मेवा जलविद्युत् आयोजना बन्ने

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



फुङ्लिङ, ४ मङ्सिर । ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिएको छ ।

मेवाखोलाको पानी तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरु हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिएका छन् । काम शुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए ।

नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने भएकाे छ । फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ आयोजना प्रभावित हुने क्षेत्र हुन । स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका सबै कार्य सम्पन्न गरिसकेको छ ।