नोवेल कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुँदै

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । यस वर्ष नोवल कलेजमा ‘हल्ट प्राइज’ कार्यक्रम आयोजना हुने भएको छ । विश्व्यापी सञ्जाल फैलिएको हल्ट प्राइज फाउन्डेशनले यस वर्षको कार्यक्रम पोखरा विश्ववद्यालयबाट सम्बन्धन प्राप्त नोवेल कलेजमा आयोजना गर्न लागेको हो ।

विद्यार्थीहरुको नेतृत्व क्षमकताको विकास र विद्यार्थीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ‘हल्ट प्राइज’ का क्याम्पस डाइरेक्टर आयुश बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार यस कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा टेवा पुर्याउनुका साथै उनीहरुमा रहेका असिमित क्षमताहरु सबैसामु प्रदर्शन गर्ने प्लाटफर्म प्रदान गर्छ । यसले उद्यमशील बनाउन पनि मद्दत पुग्ने उनको भनाई छ ।

हल्ट प्राइजले नेतृत्व विकासमा मात्र नभएर विश्वभरिका विभिन्न व्यक्तित्वहरुसँग नेटवर्क कायम गर्न, कम्युनिकेसन स्कीलको विकास गर्न पनि मद्दत गर्ने उनले बताए । यो कार्यक्रम अन्तर्गत यस वर्ष ‘फुड फर गुड’ विषय विद्यार्थीलाई दिइनेछ । यहिँ विषयमा नयाँ नयाँ आइडिया विद्यार्थीले ल्याएर हल्ट प्राइजमार्फत विश्वसामू चिनिन सक्ने उनले जानकारी दिए ।

हल्ट प्राइज संसारकै एउटा ठूलो प्लाटफर्म हो । जुन विद्यार्थीको लागि नोबेल प्राइजको रूपमा चिनिन्छ । यसमा प्रत्येक वर्ष, हल्ट प्राइज टीमले एक चुनौती जारी गर्दछ । जुन विश्वका १२१ देशका विश्वविद्यालयहरूमा क्याम्पस निर्देशकहरूको नेटवर्कमार्फत व्यापक रूपमा प्रसारित हुन्छ । हल्ट प्राइजले विश्व कै सयभन्दा बढी देशहरुका विश्वविद्यालयहरुबाट विद्यार्थीहरुलाई संसारमै सकारात्मक परिवर्तन ल्याउन सक्ने उपाय निर्माण गर्न प्रोत्साहन गर्छ ।

हल्ट प्राइजले बिजनेस प्लान, बिजनेस अनुभवहरुको बारेमा कुनै जानकारी नभएका विद्यार्थीहरुलाई विभिन्न तालिमहरु दिएर उनीहरूको आईडीयामा निखार ल्याएर विश्वमा सकारात्मक परिवर्तन ल्याउन सक्ने एजेन्टको रूपमा परिवर्तन गराउँदछ । यसले शिक्षाको साथसाथै आफ्नो आईडीयालाई संसार सामु प्रस्तुत गर्न पाउने अवसर प्रदान गर्छ ।

हल्ट प्राइज एक वर्षको अवधिको कार्यक्रम हो, जहाँ कलेजका विद्यार्थीहरुले संसारलाई नै खाना, पानी, शिक्षा, ऊर्जा आदिमा परेको अभावमा सुधार ल्याई गरिबी निवारण गर्न सहयोग पुग्ने, मानवताको बाटोमा रहेर संसारलाई नै विकास र समृद्धिको बाटोमा हिँडाउनका लागि युऐनको दिगो विकासको लक्ष्य मा आधारित रहेर आइडियाको निर्माण गरेका हुन्छन् ।

हल्ट प्राइजले अन क्याम्पस, रिजनल लेभल, एसिलेरेटर लेभल, हुँदै विभिन्न तालिम, वर्कसप हरु प्रदान गर्दै विद्यार्थीका आइडियालाई निखार गर्दै ग्लोवल फाइनलसम्म प्रतिस्पर्धा गराउँदछ । प्रतिस्पर्धी मध्ये जुन आईडीया सर्वोत्कृष्ट हुन्छ, जसले १० वर्ष को अवधिमा विश्वका १० करोड व्यक्तिलाई रोजगार दिन सक्ने हुन्छ । आयोजकका अनुसार उक्त विजेता टिमलाई हल्ट प्राइजले स्टार्टअपको लागि १ मिलियन डलर हरेक वर्ष प्रदान गर्ने गरेको छ ।