नेपाल र चीनको निकटता झन् झन् बढ्दै:अध्यक्ष तिमिल्सिना

-



     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गरे ।

चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उनले भने । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच शदियाैं पूरानो सम्बन्ध र साझा विशेषता रहेको बताए ।

विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीचको सम्बन्ध फराकिलो हुँदै गएकामा उनले प्रसन्नता व्यक्त गरे । मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो ।

पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालसमेत सहभागी भएको र यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएकाे छ । एक सातासम्म चल्ने तस्वीर प्रदर्शनीको संयोजन नेपाल चाइना मिडिया फोरमले गरेको हो । कार्यक्रममा चिनियाँ प्रतिनिधिले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमको सफलताको कामना गरेका थिए ।

फोरमका अध्यक्ष किशोर श्रेष्ठले युनानसित नेपालको हजारौं वर्ष सम्बन्ध रहेको तथा दुवैबीच भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको, नेपालबाट एक हजार ७४७ किमीको मात्र दूरी भई अढाइ घण्टाको मात्र हवाई उडान रहेको, नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युनानमा आयोजित विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको र मिडियाबीचको सम्बन्ध पनि निकै राम्रो रहेको उल्लेख गरे । उनका अनुसार युनानमा दक्षिण एशियाका मात्र २० हजार विद्यार्थी अध्ययनरत छन् । सात दिनको प्रदर्शनीमा युनानकाे भूगोल, जनजाति र संस्कृतिसम्बन्धी मनमोहक ३२ तस्वीर छन् ।