विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालको सहभागिता

-



     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ मंसिर । कोरोना भाइरस महामारीले एक वर्षपछि धकेलिएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालका ५ जना खेलाडीले सहभागिता जनाउँदैछन् । विभिन्न तौल समूहमा भाग लिने ५ पुरुष र १ महिलामध्ये सबै पुरुष पोखरा निवासी हुन् ।

पावर लिफ्टिङ एशोसिएसन अफ नेपालको आयोजनामा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एशियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरिले देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीपमा जान लागेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

यस्तै एशोसिएसन अध्यक्ष सुन्दर भुषालले संस्था स्थापनाको २ वर्ष पनि नपुगेको बताउँदै कोभिड–१९ का कारण प्रदेशस्तरबाट खेलाडी छनोट गर्न कठिन भएकोले पहिलेको छनोटलाई आधार मानिएको बताए । उनले खेलाडीलाई सफलताको शुभकामना दिँदै पदक जित्नेमा आशावादी रहेको बताए ।

गण्डकी प्रदेश सांसद राजीव पहारीले खेलकुद स्वास्थ्यको लागि मात्रै नभई राष्ट्रको चिनारी पनि रहेकोले खेलुकदको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले खेलाडीको संरक्षणको जिम्मा सरकारले लिनुपर्ने उनको धारणा थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), गण्डकी अध्यक्ष एकराज गिरिले मञ्चले खेलाडीको हितका लागि वार्षिकरुपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको जानकारी दिए । उनले प्रतियोगितामा पदक जितेर फर्किने खेलाडीलाई यसैगरी सम्मान गर्न पाइयोस् भनी सदीक्षा व्यक्त गरे ।

भारतको महाराष्ट्र राज्यको अमरावतीमा आगामी डिसेम्बर ४ देखि ७ सम्म पावर लिफ्टिङ वल्र्ड कप–२०२० हुँदैछ । प्रतियोगिताका लागि पोखराका हसन गुरुङ (८० केजी), राजेश सुवाल (९०), सुजन आले (७५), आशीष आले (१००) र सुर्खेतकी श्रृति कार्की (५५) ले नेपालको प्रतिनिधित्व गर्न लागेको कास्की शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार थापाले बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका वरिष्ठ उपाध्यक्ष तथा एशोसिएसनका सल्लाहकार वल्र्ड च्याम्पियन केदारमान स्थापितको पनि उपस्थित थियो ।

प्रतियोगिताका लागि नेपाली टोली डिसेम्बर ३ मा त्यसतर्फ प्रस्थान गर्ने जनाएको छ । यतिबेला नेपाल–भारत हवाइ उडान नहुँदा स्थलमार्ग हुँदै जानुपर्ने बाध्यता रहेको एशोसिएसनले जनाएको छ । कार्यक्रम स्थल नागपुरदेखि १२० किमी टाढा पर्दछ ।