पोखराका शिक्षासेवी इञ्जिनियर लेखबहादुरको निधन

-


     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ मंसिर । पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल इञ्जिनियर लेखबहादुर गुरुङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार दिउँसो २ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारक्रममा निधन भएको हो ।

गत कात्तिक २५ मा कलेज परिसरमै एक्कासी ढलेर बेहोस् भएका उनको मोडल अस्पताल र मणिपाल शिक्षण अस्पतालहुँदै काठमाडौंको ग्राण्डी रेफर गरिएको थियो । उनलाई सुरुवातमा मस्तिष्क पक्षघात भएको र सो कारण मिर्गौलालाई समेत समस्या पारेको थियो । २०१० साल भदौ ५ मा जन्मिएका इ. लेखबहादुरको पुरानो घर स्याङ्जाको सिर्सेकोट वडा ३, मैदान हो । हाल उनी पोखरा ६ बैदाम बस्दै आएका थिए ।

सन् १९९७ सालदेखि पोखरा इन्जिनियरिङ कलेजमा संस्थापक प्रिन्सिपल रहेका उनी पोखराको हिमचुली एफएमका पनि संस्थापक हुन् । लामो समय शिक्षा क्षेत्रमा बिताएका उनले सन् १९८९ मा भारतबाट इकाेलोजी एण्ड इन्भरोन्मेन्टमा पोस्ट ग्राजुयट गरेका थिए । वातावरणविद् समेत रहेका उनले सन् १९८४ मै अप्लाइड इकोनोमिक्समा एमए पूरा गरेका थिए ।

स्व. गुरुङको शव पोखरा ल्याई आइतबार बिहान १० बजेदेखि पोखरा इन्जिनियरिङ कलेजमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने परिवारजनले जनाएको छ । त्यसपछि शवयात्रासहित सेती नदीमा अन्त्येष्टि गरिने कार्यक्रम छ । यसैबीच, कलेजद्वारा शोक विज्ञप्ति जारी गरी उनको देहावसानले शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पुर्‍याएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।