पोखरा–आँबुखैरेनी सडक चार लेन बनाउन यसै वर्षबाट काम थालिने

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



पोखरा, ७ मंसिर । बहुप्रतिक्षित पोखरा–आँबुखैरेनी सडक विस्तार चालु आर्थिक वर्षबाटै सुरु हुने भएको छ । सो सडकखण्ड चार लेनमा बिस्तार योजना छ ।

सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक राकेश महर्जनका अनुसार ८० किमी लामो सो सडकखण्ड ४०/४० किमीको २ प्याकेज बनाएर विस्तार गरिनेछ ।

सोको लागि गत कात्तिक तेस्रो साता ठेक्का लागि बोलपत्र आहवान गरिएबमोजिम प्रस्ताव मूल्यांकन कार्य जारी रहेको छ ।

एशियाली बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने सो आयोजनाका लागि पोखराबाट पूर्वी खण्डमा १८ र आँबुखैरेनीदेखि पश्चिममा १७ कम्पनीले प्रस्ताव पेस गरेको बताइएको छ ।

उपआयोजना निर्देशक महर्जनका अनुसार आगामी फागुन चैत महिनाभित्र ठेक्का सम्झौता गरी निर्माण थालिने छ । निर्माणमा करिब २५ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

सडक निर्माणमा २१ अर्ब ४५ करोड सहुलियतपूर्ण ऋण उपलब्ध हुने गरी सरकारसँग सम्झौता भइरहेको छ भने अपुग रकम नेपाल सरकार स्वयंले बेहोर्नेछ । सडक बिस्तारका लागि भत्काउनुपर्ने घर, टहराको मुआब्जा दिइनेछ ।

भूगोल र जनघनत्व आधारमा सडक चौडा बनाइने योजना छ । घनाबस्ती भएको स्थानमा चौडाई ४१ मिटरसम्म फराकिलो बन्नेछ । खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरको हुनेछ । एउटै लेन साढे ३ मिटरको हुने गरी दुवैतर्फ ७/७ मिटरको बिस्तार सडक बन्नेछ ।