म्याग्दी, ९ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो ।
राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनीयर जितेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन रु दुई करोड ५० लाख खर्च भएको छ ।
पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन । राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि शुरु भएको मोटरेबल पुल निर्माणको काम सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युतको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच थिएन । पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँगै रघुगङ्गा गाउँपालिकाको वडा नं ५ को झिँ र वडा नं ६ को पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सिधा सडक सञ्जालमा जोडिएका छन् ।
मौवाफाँट हुँदै बुग्लसम्म पुगेको सडकको ट्र्याक राहुघाट जलविद्युत् आयोजनाकै सहयोगमा झिँसम्म विस्तार भइसकेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्रा अवधि एक घण्टामा छोटिने झिँका स्थानीय युवा मीनबहादुर रोकाले बताएको राससले लेखेकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



