लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय दिवस २०२० शुरु

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



गण्डकी, १० मंसिर । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकाे संयाेजन र विभिन्न सामाजिक संघ-संस्थासंगकाे समन्वयमा ‘ओरेञ्ज द वर्ल्ड, फण्ड, रेस्पोण्ड, प्रिभेन्ट, कलेक्ट, अन्तराष्ट्रिय नारा र लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराकासाथ आजबाट यस बर्षको १६ दिने लैङ्गिंक हिंसा बिरुद्धको अभियान शुरु भएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सामाजिक संघ-संस्थासंगको सहकार्यमा विभिन्न कार्यक्रमका साथ दिवस मनाउन थालेकाे हाे । यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिख देखि अभियान शुरु भई अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन अभियानको समापन गर्ने गरिन्छ ।

अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासंग जोडिएको छ । यस घटनालाई लैंङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । ३ दिदीबहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए । त्रिजुलो सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापना सँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरि सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

पछिल्लो समय नेपालमा पनि महिला हिंसाको घटनाहरु घट्ने क्रममा कुनै कमि आएको छैन । झनै कोभिड १९ का कारण यस्ता घटनाहरुमा बढोत्तरी भएका छन् । समाजमा लिङ्गकै आधारमा महिला माथी हुने महिला हिंसाका घट्नाहरुलाई न्यूनिकरण गर्नु हामी सबैको साझा दायित्व भएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष कोभिड १९ का कारण भौतिक उपस्थितीकासाथ बृहत रुपमा अभियान संचालन गर्न कठिन अबस्था भएपनि व्यक्तिगत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक बिकास मन्त्रालयले विभिन्न संघ संस्थाहरुको समन्वय र सहकार्यमा प्रदेशका ११ वटै जिल्लामा विभिन्न कार्यक्रम आयोजना गर्न लागेकाे सामाजिक विकास मन्त्रालय, समाजिक विकास महाशाखा प्रवक्ता तेजप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

कार्यक्रमहरु:

  • सेतो रिवन अभियानका साथ १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको शुभारम्भ (सबैले आ आफ्नो घर, संघ संस्था तथा सरकारी, गैह सरकारी कार्यालयहरुको सहकार्यमा, २५ नोभेम्बर )
  • अन्तराष्ट्रिय अपागंता दिवस (राष्ट्रिय अपागं महासंघ गण्डकी प्रदेशको सहकार्यमा)
  • अपांगता भएका महिलाहरुसँगको अन्तरक्रिया कार्यक्रम ((राष्ट्रिय अपागं महासंघ गण्डकी प्रदेशको सहकार्यमा)
  • गण्डकी प्रदेशका ११ वटै जिल्लामा महिला तथा बालबालिकाहरुको न्यायमा पहुँच बिषयक अन्तरक्रिया कार्यक्रम (गैसस महासंघ गण्डकी प्रदेशको सहकार्यमा)
  • ११ वटा जिल्लाका २२ जना लाई १० दिने मनोसामाजिक परामर्शकर्ता तालिम (कोपिला नेपालको सहकार्यमा)
  • बिभिन्न संचार माध्यमबाट सचेतनामूलक कार्यक्रम उत्पादन, प्रकाशन एवं प्रसारण (प्रदेशमा रहेका संचार संस्थासँगको सहकार्य)
  • मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिक बालिकाहरुमाथि हुने यौन दुव्र्यवहार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम (शक्ति समूह )
  • प्रजनन स्वास्थ्य र सूरक्षित गर्भपतनबारे अधिकारकर्मिसँग अन्तरक्रिया कार्यक्रम (महिला मानव अधिकार रक्षक संजालको सहकार्य)
  • गण्डकी प्रदेशको नीति तथा योजनामा बालिका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम (इन्सेक र जागृती बाल तथा यूवा सरोकार केन्द्र)
  • ११ वटै जिल्लामा जातिय विभेद र कोभिड १९ का कारण महिलामा परेको असर बिषयक अन्तरक्रिया कार्यक्रम (इन्सेकसँगको सहकार्य)
  • लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी रेडियो तथा टेलिभिजन कार्यक्रम, महिला हिंसा बिरुद्ध सचेतनामूलक नाटक प्रर्दशन, हिंसा न्यूनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम (कोपिला नेपाल)
  • लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम (थ्रि एन्जल्स नेपाल)
  • हिंसा न्यूनिकरणका लागि सचेतनामूलक बृत्तचित्र प्रर्दशन कार्यक्रम (प्रदेश प्रहरी कार्यालय)
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमको समिक्षा (सामाजिक बिकास मन्त्रालय)