गुल्मीमा जीप दुर्घटना, ६ जनाकाे ज्यान गयाे

-



     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित



गुल्मी, १२ मङ्सिर । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा–४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको हाे ।

दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए । घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिए पनि बाटाेमै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेहरूमा इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।