उद्योगी व्यवसायीको महासङ्ग्राम: नयाँ नेतृत्वको लागि मतदान जारी

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत मतदान जारी छ । शनिबार बिहान ८ बजेदेखि विभिन्न मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको हो । दिउँसो ४ बजेसम्म मतदान गर्न पाइने व्यवस्था छ।

कोभिड–१९ संक्रमण जोखिमका कारण काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको हो । जिल्ला र नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फ कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय, टेकुमा मतदान भइरहेको छ । यस्तै, कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमै मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरुमध्ये चन्द्रप्रसाद ढकालले एशोसियट सदस्य भएकोले कार्की ब्याङ्केट र किशोर प्रधान बस्तुगत समूहको सदस्य भएकोले महासंघको केन्द्रीय कार्यालयबाटै मतदान गर्ने छन् । मतदान केन्द्रमा आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरु क्रियाशील छन् ।


महासंघको आगामी नेतृत्वको छिनोफानो कुनै विवाद र समस्या नआएमा शनिबार राति नै मतपरिणाम आउनेछ । निर्वाचनसँगै महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन् ।

विगत ८ महिनादेखि रोकिएको महासंघको निर्वाचन मंसिर दोस्रो साता आएर बल्ल सम्भव भएको हो । मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघको ५४ औं साधारणसभा उद्घाटन गरेका थिए ।

महासंघको नयाँ नेतृत्वमा पुग्न एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

नयाँ नेतृत्वका लागि ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा ढकाल प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् ।

यस्तै, प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् ।

सबैभन्दा बढी मतभार रहेको जिल्ला नगर आफ्नो पक्षमा पार्न दुवै पक्षले कडा कसरत गरेका छन् । जिल्ला नगरको ५० प्रतिशत मतभार छ ।