उद्योग वाणिज्य महासंघको मतदान जारी, ५० प्रतिशत मत खस्यो

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत शनिबार जारी मतदानमा ५० प्रतिशत मत खसेको छ ।

काठमाडौंका विभिन्न ३ स्थानमा बिहादेखि शुरु मतदानअन्तर्गत मध्यान्हसम्म ५० प्रतिशत मत खसिसकेको निर्वाचन समितिले जानकारी दिएको छ।

समितिका अनुसार जिल्ला नगरतर्फ ५२ मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १ सय ५ हो ।

यसैगरी एशोसिएटमा ६ सय १२ मत अर्थात् ५० प्रतिशतभन्दा धेरै खसिसकेको छ । एशोसिएटमा ९ सय ५ कुल मत रहेको छ ।

उता, वस्तुगत संघमा १ सय १ मत रहेकोमा ५३ मत खसिसकेको छ । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।

कोभिड–१९ संक्रमण जोखिमका कारण काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको हो । जिल्ला र नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फ कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय, टेकुमा मतदान भइरहेको छ । यस्तै, कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमै मतदानको व्यवस्था मिलाइएको छ ।

महासंघको नयाँ नेतृत्वमा पुग्न एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध भइसकेका छन् ।

नयाँ नेतृत्वका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा ढकाल प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् ।

यस्तै, प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् ।