उद्योग वाणिज्य महासंघको चुनावमा शतप्रतिशत मतदान

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत शतप्रतिशत मतदान भएको छ ।

निर्वाचन समितिका अनुसार शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको मतदान अवधिमा शतप्रतिशत मत खसेको हो । मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेका अनुसार जिल्ला नगरमा कुल १ सय ५, एशोसिएटमा ९ सय ३ र वस्तुगत संघमा १ सय १ मत खसेको हो । दिउँसो २ बजेसम्म जिल्ला नगरतर्फ शतप्रतिशत अर्थात १ सय ५ मतदान भइसकेको थियो ।

कोभिड–१९ संक्रमण जोखिमका कारण काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको थियो । जिल्ला र नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फ कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय, टेकुमा मतदान भएको हो । यस्तै, कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमै मतदानको व्यवस्था मिलाइएको हो ।

आगामी नेतृत्व तय गर्न महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल चुनावी मैदानमा होमिएका हुन् ।

महासंघको नयाँ नेतृत्वमा पुग्न एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध भइसकेका छन् ।

नयाँ नेतृत्वका लागि ढकाल प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् भने प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार छन् ।