उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने पक्का भएका ढकाल को हुन् ?

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको ढोका सुनिश्चित गरेका चन्द्रप्रसाद ढकालको सुरुवातको जीवन गाउँघरमा दुःखजिलोमै बित्यो । उनी यहाँसम्म आइपुग्न मात्र तीन सूत्रले काम गरेको छ–निरन्तरता, इमान्दारिता र लगनशीलता ।

उनका अनुसार यो नै सफलताको सूत्र हो । सुरुवाती समयमा निकै कष्टपूर्ण जीवन गुजारेका उनले महासंघमा २० औं अध्यक्ष बन्ने सुनिश्चित कायम गरे । वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानलाई पराजित गर्दै ढकाल निर्वाचित हुन सफल भएका हुन् । यहाँसम्म आइपुग्दा सफलताको बाटो यत्तिकै कोरिएको हैन । निकै संघर्ष गरे । कसरी शुरु भयो संघर्षको यात्रा ?

उनको जन्म गण्डकी प्रदेशअन्तर्गत बागलुङको साधारण परिवारमा भएको हो । तत्कालीन अमलाचौर गाविस ४, कुँडहरमा बुवा स्व. हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मिएका ढकाल उमेरले १६ वर्ष पुग्दानपुग्दै घरको मिँयो बाबु गुमाए । परिवारका जेठा छोरा भएका नाताले पारिवारिक दायित्व काँधमा आइलाग्यो । त्यो बेला उनी कत्र्तव्य पूरा गर्ने अठोट बाहेक अरु केही गर्न सक्दैनथे । विकल्परहित दायित्व पूरा गर्ने कोशिसमा गरे । जीवनको दौरानमा घाँसदाउरा, मेलापात, गाईभैँसी चित्रा भकारी सबैसँग भिजे । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद उनको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला । उनले गाउँ छँदा चोयाँ काढे । डोको बुने । नाम्लो बुने ।

बुवाको असामयिक निधनपछि पारिवारिक दायित्वको भारीले थिचिएर हुनुपर्छ, एसएलसी फेल भए । अंगे्रजी विषय लागेको रहेछ । दोस्रो वर्षमा कटाए । उच्च शिक्षाका लागि काठमाडौं आइपुगे । जागीरका लागि भौँतारिए । केही समयपछि एक निजी कम्पनीमा जागीर पाए । ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागीरे जीवन सुरु गरे । घरमा खर्च पठाउँदै पढाइलाई निरन्तरता दिए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब ४ वर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।

उनले २०४८ सालतिर कोल्डस्टोर चलाए । त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारक्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा ऋण स्वीकृत नभएको ढकाल सम्झन्छन् ।

सो घटनापछि आक्रोशित बनेका उनले जागीर नै त्याग्ने सोच बनाए । अन्नतः उनले बैंकिङ जागीरबाट राजीनामा दिए । तर उनको अहिलेको यो सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । १६ वर्षकै उमेरमा एक किशोरको काँधमा अब आमा र साना भाइबहिनीको भविष्यसमेत थपिएको थियो । जस्तोसुकै अवथामा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ भन्ने दृढता राखे ।

‘त्यो दिन सही निर्णय गरेँछु भन्ने लाग्छ । तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरेँ भन्नेबारेमा अहिले पनि बेला–बेलामा सोच्ने गर्छु । त्यस समय बैंकको जागीर सबैलाई प्यारो थियो,’ सफल आवाजसँगको कुराकानीमा उनले भने, ‘तर मेरो ब्रह्मज्ञानले जागीरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिलेकाहीँ आफैँ छक्क पर्छु ।’

त्यसयता पनि उनको जिन्दगीले भोगाइका धेरै मोडहरु बनायो । ढकाल कार्गाे व्यवसायलाई विदेशमा फैलाउन चाहन्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कर्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे, भिसा पनि लाग्यो । तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसेर काम गरे ।

१० महिनाजति त्यहीँ काम गरेर बसेँ । कार्गो व्यवसाय बिस्तारको लागि अमेरिकाको भिसा पाए तर गएनन् । त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाए । १० महिना जापानको एउटा छापाखानामा काम गरेँ । भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे ।

ढकाल दाजुभाइको जापानको त्यो बसाइँ अनुभवको उपजले नै जन्मिएको थियो–आइएमई । विदेशमा श्रम बेच्ने नेपालीहरुको रेमिट्यान्स भित्राउने आजको एउटा प्रमुख कम्पनी आईएमईका सञ्चालक ढकाल आफै पनि कुनै समय वैदेशिक रोजगारीमा थिए । उनी देशकै चर्चित व्यावसायिक घराना आइएमई ग्रुपका अध्यक्ष हुन् । साथै चर्चित पर्यटकीय क्षेत्र बन्न सफल चन्द्रागिरी हिल्सको पनि अध्यक्ष हुन् । उनकै नेतृत्वमा अरु दर्जनौं व्यावसायिक प्रतिष्ठानहरु संचालनमा छन् । सैयौंले रोजगारी पाएका छन् ।

सरल मृदुभासी ब्यबसायीको छवि बनाएका ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका संघर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् ।

तैपनि उनी सरल जीवन बाँच्छन् । तडकभडक छैन । धेरै मिहिनेत गरेर सफल व्यवसायीको रुपमा चिनाउने उनको धोको हो । त्यसैले महासंघमा चुनाव लडे । सफल पनि भए ।