हिमाल आरोहणकाे ‘गारबेज’ धरौटी रकम फिर्ता लिन आग्रह

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ मङ्सिर । हिमाल आरोहणका क्रममा फोहरमैला व्यवस्थापनसम्बन्धी राखिएको धरौटी रकम र्फिता लैजान नेपाल पर्वतारोहण सङ्घले कम्पनीहरुलाई आग्रह गरेको छ । सङ्घले जिम्मा पाएको हिमाल आरोहणका क्रममा राखिएको धरौटी रकम लामो समयसम्म फिर्ता नलगेपछि सङ्घले कम्पनीहरुलाई फिर्ता लैजान अनुरोध गरेको हो ।

लामो समयदेखि धरौटीबापतको रकम सङ्घको खातामा रहँदा लेखापरीक्षणमा समस्या हुने गरेको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । “चारवटा कम्पनीले विगत आठ वर्षदेखिको रकम फिर्ता लगेको छैनन्, पटक÷पटक अनुरोध गर्दासमेत फिर्ता लैजान आनाकानी गरेपछि बाध्य भएर रकम जफत गर्ने निर्णयमा पुगेका हौं”, उनले भने ।

कतिपय कम्पनीहरुले अन्य आरोहणका क्रममा सोही धरौटी रकम प्रयोग गर्ने भन्दै रकम फिर्ता नलग्ने गरेको सङ्घले जनाएको छ । धरौटी रकम फिर्ता लैजान सङ्घले पटक÷पटक गरेको अनुरोधमा कम्पनीहरुले अरू आरोहणका लागि प्रयोग गर्ने भन्दै फिर्ता लैजान नमान्ने गरेको महासचिव गुरुङले जानकारी दिए । उनका अनुसार गत असोज २९ गते बसेको केन्द्रीय सचिवालय बैठकले धरौटीबापतको रकम लामो समयदेखि सङ्घमा रहँदा समस्या भएपछि धरौटी रकम राखेको मितिले दुई वर्षभित्र फिर्ता नलगेमा सङ्घकै आम्दानी हुने निर्णय गरिएको हो ।

विभिन्न नौ कम्पनीले राखेको गारबेज धरौटीबापतको रकम फिर्ता लगेका छैनन् । नौ कम्पनीको रु पाँच लाखभन्दा बढी धरौटी रकम सङ्घको खातामा रहेको जनाइएको छ । सङ्घले आरोहण व्यवस्थापन गरेको हिमाल आरोहणका लागि प्रतिसमूह ५०० अमेरिकी डलर गारबेज धरौटीस्वरुप राख्ने गरिएको बताएकाे छ । सङ्घले मङ्सिर १२ गते एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र उक्त रकम फिर्ता नलगेमा स्वतः सङ्घको आम्दानी हुने भन्दै फिर्ता लैजानका लागि कम्पनीहरुलाई आग्रह गरेको हाे ।