प्रविधिको कमाल शेयर बजारमा देखियोः सीईओ साउद

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पछिल्लो समय शेयर बजार बढ्नुमा प्रविधिको अहम भूमिका रहेको बताएका छन् । केहि दिन यता शेयर बजारमा दिनदिनै रेकर्ड ब्रेक भएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
‘अहिले बजारमा निकै बढिरहनुको खास कारण के होला ?’ भन्ने सफल आवाजको प्रश्नमा नेप्सेका सीईओ साउदले अनलाइन कारोबार प्रणालीका कारण शेयर बजारमा आकर्षण देखिएको बताए ।

देशदेखि विदेशसम्मका लगानीकर्ताहरुले कारोबार गरेका बजार उचालिएको उनको भनाई छ । ‘यो सबै प्रविधिको कमाल हो, कोरोना पछि लगानीकर्ताहरु प्रविधिमा अभ्यस्त हुन थालेका छन्’ उनले भने, ‘ब्रोकर कार्यालयमा गएर कारोबार गर्नु परेको भए यत्तिको कारोबार हुने थिएन ।’ नेप्सेले यो वर्ष घरबाटै शेयर खरिद बिक्री गर्न सकिने गरी ‘अनलाइन कारोबार प्रणाली’ को विकास गरेको थियो । तर अनलाइन कारोबारमा लगानीकर्ताहरु एकदमै कम आवद्ध भए । कारोबार प्रणालीमा पटक–पटक समस्या आउँदा नेप्सेको व्यापक आलाेचना पनि भयो ।

अहिले भने अनलाइन कारोबार सही प्रमाणित भएको र यसका कारण अहिले बजारमा ठूलो हलचल भइरहेको नेप्सेका सीईओ साउद बताउँछन् । हिजो ब्रोकर कार्यालयमा नै गएर कारोबार गर्नुपर्ने बाध्यता रहेकाले पनि धेरै लगानीकर्ता शेयर खरिद बिक्रीमा सक्रिय हुन नसकेको उनी बताउँछन् । अनलाइन कारोबार आएपछि देशविदेशमा रहेका धेरैले किनबेच गर्न थाल्दा बजारमा त्यसको सकारात्मक प्रभाव परेको सीईओ साउद बताउँछन् । उनका अनुसार, अहिले पुँजी बजारमा २० लाख हाराहारीमा लगानीकर्ता छन् । सक्रिय लगानीकर्ता भने ४ लाख पनि छैनन् ।

अहिले बजारमा केवाईसी अपडेट गरिरहने सक्रिय लगानीकर्ताको संख्या ३ लाख ७५ हजार हाराहारी रहेको नेप्सेका सीईओ साउद बताउँछन् । त्यसमा पनि १ लाख ९० हजार लगानीकर्ताले अनलाइन युजर लिएर कारोबार गर्न थालेका छन् । त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको साउदको विश्लेषण छ ।

‘यो पनि कोरोना कै कारण भएको हो, कोरोना अघि ५–१० प्रतिशत मात्रै लगानी कर्ता अनलाइनबाट किनबेच गर्थे’, उनी भन्छन्, ‘अहिले ठीक विपरीत भएको छ, अधिकांशले अनलाइनबाटै किन्छन्, ब्रोकर अफिसबाट किन्ने १० प्रतिशत होलान् ।’

सोमबार २८ दशमलव ७९ अंकले उकालो लागेर सेयर कारोबार मापक नेप्से परिसूचक १ हजार ९ सय ९७ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३८५ दशमलव ५६ अंकमा पुगेको छ । पौने ९ अर्ब भन्दा धेरै कारोबार भयो । दिनभर भएका ८३ हजार ५६७ कारोबारमा १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच भए । कारोबार रकम ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ पुगेको छ ।