एनएमबि यसपालि पनि बैंक अफ दि इयर

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर । एनएमबि बैंक लिमिटेडलाई नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘बैंक अफ दि इयर २०२०’ उपाधि दिइएको छ।

सन् २०२० का लागि बेलायतको फाइनान्सियल टाइम्सले सो उपाधिबाट एनएमबि बैंकलाई यसपालि पनि सम्मान गरेको हो । बैंकले ४ वर्षयता सो उपाधि पाएको यो तेस्रो पटक हो ।

बैंकको कूल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ । एनएमबि बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोवारलाई समेत प्रश्रय दिएको छ ।

निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तरराष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले खुसी व्यक्त गर्दै विज्ञप्तिमा भनेको छ, ‘यसमा हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो, हाम्रा ग्राहक, नियामक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको सहयोग नै अमूल्य रहेको छ ।’

कोभिड–१९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पु¥याएको र सफलतामा योगदान गरेको बैंकले जनाएकाे छ।

बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।

बैंकले हाल १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवाप्रदान गर्दै आएको जनाएको छ।