सबै सुविधा र अवसरमा फरक क्षमता भएकाहरुको समान पहुँच स्थापित गरिनुपर्नेमा राष्ट्रपतिको जोड

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चिपत गरेको छ । ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको छ । राष्ट्रपति भणडारीले यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिएकी छन् ।

उनीहरूलाई क्षमता र आवश्यकतानुसारका रोजगारमूलक एवम् सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने तथा तिनको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छन्।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।

‘कोभिड १९ पश्चात्‌को उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ नेपालमा पनि अपाङ्गता दिवस मनाउन लागिएको छ ।