सहुलियत ऋणमा बढ्यो आकर्षण, ४१ हजारले लिए ७२ अर्ब ऋण

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । संघीय सरकारले बजेटमै व्यवस्थापन गरेको सहुलियतपूर्ण कर्जा सुविधा हालसम्म ४१ हजार भन्दा धेरैले उपयोग गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असोज मसान्तसम्ममा ४१ ह्जार ६१८ ऋणीले ७२ अर्ब ४७ करोड कर्जा लगानी भएको हो ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २७ हजार ३ सय ६९ ऋणीलाई प्रवाह भएको ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १४ हजार २ सय ४९ ऋणीको ११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको छ ।

यसैगरी राष्ट्र बैंकले कोभिड– १९ प्रभावित उद्योग तथा व्यवसायहरुलाई राहत प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग पुनर्कर्जा दरखास्त आहवान गरेकोमा दरखास्त बुझाउने अन्तिम मिति २०७७ असोज मसान्तसम्ममा रु. ६९ अर्ब ४ करोड माग भएकोमा रु. ५० अर्ब ७ करोड स्वीकृत भएको छ । यसैगरी, ग्राहक मूल्याँकन अनुसार प्रदान गरिने पुनरकर्जाका लागि रु. ५५ अर्ब २५ करोड माग भएकोमा रु. १५ अर्ब ६२ करोड स्वीकृत भएको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्न र यस्तो कर्जामा लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्न कृषि तथा पशुपंक्षी कर्जा बाहेकका कार्यविधिमा उल्लेखित अन्य कर्जाहरुमा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकले ५०० वा न्यूनतम प्रति शाखा १० तथा राष्ट्रिय स्तरका विकास बैकले ३०० वा न्यूनतम प्रति शाखा ५ मध्ये जुन बढी हुन्छ सोही बमोजिमको संख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, राष्ट्रियस्तर बाहेकका विकास बैंक तथा वित्त कम्पनीहरुले क्रमशः न्यूनतम २०० र १०० सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले पुनर्कर्जा कार्यविधि लागु गरी उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।