अमेरिकी सेयर बजारमा चिनियाँ कम्पनीलाई झट्का, नयाँ ऐनले लगानीकर्तामा त्रास

-



     मनाेज अधिकारी    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका २१ मंसिर । अमेरिकामा सेयर कारोबार गर्ने हजारौं नेपाली वा नेपालीमुलका आप्रबासी छन् । उनीहरुले दैनिक लाखौं डलरको सेयर कारोबार गर्छन् भनिन्छ ।

उनीहरुको नेपाली रविनहुड भन्ने ठूलो समूह छ । यो रविनहुड एपमार्फत् सेयर कारोबार गर्नेहरुको समूह हो । यसमा ८ हजार ६ सयभन्दा बढी सदस्य छन् ।

अमेरिकामा आइटी सेक्टरमा जमेर उच्च कमाई गर्नेदेखि मेडिकल, अन्य सरकारी सेवा, व्यापार, व्यवसाय गर्नेहरु र सामान्य दैनिक रुपमा घण्टाका आधारमा आम्दानी गर्नेहरु समेत यो समूहमा छन् ।

तीमध्ये धेरैले दैनिक सेयर कारोबारलाई आफ्नो अर्धपेशा बनाएका छन् । कतिले त यसलाई मुल पेशा बनाएको देखिन्छ ।

कोही आफ्नो पहिलेको काम (जागिर) वा व्यवसाय छोडेर अहिले पुरै समय सेयर किनबेचमा लागेको बताउँछन् । आफ्नो नियमित काम वा व्यवसाय गर्दै सेयर कारोबारलाई पनि सँगसँगै लैजाने पनि धेरै छन्। यस्तो संख्या ठूलो छ ।

अमेरिकी सेयर बजारमा कारोबार गर्ने नेपालीहरुले अहिले किन चिनियाँ कम्पनीहरुको सेयर नबढेको ? वा घटेको ? भनेर यो समूहमा प्रश्नहरु गरेका छन् । केहीले यसको खास कारण बुझाउन खोजेका छन् ।

सेयर एक सम्भावना र जोखिम बीचको खेल मात्रै हो । कतिले यसलाई आधुनिक जुवा पनि भन्ने गर्छन् । कारोबार अवधिभित्र हुने न्यूनतम र उच्चतम बिन्दुबीच हुने अंकगणित नै सेयर बजारको कारोबार हो ।

खासमा कुरो के भने, अमेरिकी कँग्रेसले चिनियाँ कम्पनीहरुको लेखा परीक्षणलाई कडाईका साथ हेर्ने सम्बन्धी एक ऐन हालै पारित गरेको छ । उक्त ऐन अनुसार अमेरिकी एक्सचेन्जमा सुचीकृति चिनियाँ कम्पनीहरुले सार्वजनिक कम्पनी लेखा निरीक्षण बोर्ड अर्थात् पीसिएओबी स्टान्डर्डअन्तर्गत कम्पनीको अडिट गराउनु पर्नेछ ।

यो भनेको पब्लिक कम्पनीको अडिट निरीक्षण गर्ने मान्यता प्राप्त निकाय हो । नीजि कम्पनीले भने सामान्य मापदण्ड अर्थात् जीएएएस (न्ब्ब्क्० स्टान्डर्डमा लेखा परीक्षण गराउँछन् ।

लगातार तीन वर्षको यस्तो लेखा परीक्षण नभएका चिनियाँ कम्पनीलाई अमेरिकी एक्सचेन्जबाट हटाउने उक्त ऐनको प्रावधानकै कारण अहिले चिनियाँ कम्पनीका सेयरहरु खस्किएका हुन् । किनभने यस्तो प्रावधानलाई कम्पनीहरुले कसरी लिन्छन् भन्नेमा लगानीकर्ता डराएका हुन्छन् ।

अमेरिकी लगानीकर्तालाई चिनियाँ कम्पनीमा लगानी गर्दा भविष्यमा हुन सक्ने जोखिमबाट जोगाउन ती कम्पनीको अडिटमाथि निगरानी वा निरीक्षण बोर्डको पहुँच आवश्यक ठानिएको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी एक्सचेन्जमा सूचिकृत भई कारोबार गरे पनि चिनियाँ कम्पनी टाट पल्टिएको घोषणा गरे वा डुबे भोलि दोस्रो देशमाथिको कानूनी उपचार निकै कठिन वा असम्भवप्रायः हुन्छ । अन्तरदेशीय कानूनी प्रक्रिया अप्ठेरो हुने हुँदा यस्तो अवस्थामा लगानीकर्ताको ठूलो पुँजी डुब्ने सम्भावना रहन्छ ।


अहिले यसैको सोझो असर चिनियाँ कम्पनीहरुको सेयरमा परेको हो ।

सेयर बजार न हो यसको भर चाहिं हुँदैन । आज बढेको सेयर अर्काे दिन एक्कासी घट्न सक्छ । केहीदिन लगभग स्थीर रहेको सेयर पुनः उचाईमा पनि पुग्न सक्छ ।

सेयर एक सम्भावना र जोखिम बीचको खेल मात्रै हो । कतिले यसलाई आधुनिक जुवा पनि भन्ने गर्छन् । कारोबार अवधिभित्र हुने न्यूनतम र उच्चतम बिन्दुबीच हुने अंकगणित नै सेयर बजारको कारोबार हो ।

अहिले अमेरिकी सेयर बजारमा अलिबाबा, नियो, एक्सपिइभी, मोमो लगायत २१७ चिनियाँ कम्पनी सूचिकृत छन् । त्यसमध्ये १३ वटा राज्यस्तरका सरकारी स्वामित्वका चिनियाँ कम्पनी अमेरिकाका तीन प्रमुख एक्सचेन्जमा सुचिकृत छन् । ती सबै चिनियाँ कम्पनीको कुल बजार पुँजी २.२ ट्रिलियन डलर छ ।

विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्ममध्येको अलिबाबाको सेयर केहीदिन अघिसम्म ३१९ डलरसम्म पुगेको थियो । शुक्रबार यसको सेयर मुल्य २६७ डलरमा सिमित छ । यस्तै नियोको सेयर ५७ डलरको उच्च बिन्दुमा पुगे पनि अहिले ४२ डलर वरपर छ ।

यस्तै भर्खरै अमेरिकी एक्सचेन्जमा सूचिकृत अर्काे चिनियाँ कम्पनी एक्सपीइभीको सेयर मुल्य निकै छोटो अवधिमा ७४ डलरको उच्चतम बिन्दुमा पुगेको थियो । अहिले यसको सेयर ४९ डलर वरपर छ ।