‘ब्रोकर कमिशन अत्यधिक भयो, ०.२५ प्रतिशतमा झार्नै पर्छ’

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर खरिद बिक्री वापत तिर्नु पर्ने ब्रोकर कमिशन रकम अत्यधिक महंगो भएको बताएकी छिन् । विगतमा एकदमै कम कारोबार हुने भएकाले आफूहरु चुप लागेकाे र अहिले दैनिक ९ अर्ब भन्दा माथिसम्म कारोबार पुग्न थालेकाले अब भने घटाउनै पर्ने अध्यक्ष पोखरेलले बताइन् ।

अहिले सेयर खरिद–बिक्री गर्दा सेवोन शुल्क ०.०१५ प्रतिशत, डिपि शुल्क २५ रुपैयाँ प्रति कारोबार र बिक्री गर्दा नाफाको ५ प्रतिशत लाभकर तिर्नुपर्छ । यतिमात्रै होइन ब्रोकरलाई तिर्नु पर्ने कमिशन छुट्टै छ । ५० हजार रुपैयाँसम्मको कारोबारमात्र ०.६० प्रतिशत ब्रोकरलाईमात्रै लगानीकर्ताले कमिशन बुझाउँदै आएका छन् । यो कमिशन ठूलो भएको भन्दै यसलाई घटाएर ०.२५ प्रतिशतमा झार्नु पर्ने लगानीकर्ताको माग छ ।

लगानीकर्ताका विभिन्न संघ संगठनले कमिशन घटाउन माग गर्दै गत शुक्रबार नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउँ समेत गरे । ‘हामी सबै संघहरु एक भएका छौं, सबैको माग ब्रोकर कमिशन ०.२५ प्रतिशत बनाउनुपर्छ भन्ने छ’ सफल आवाजसँगको कुराकानीमा अध्यक्ष पोखरेलले भनिन्, ‘अहिले निकै धेरै कारोबार हुन थालिसकेकाले कमिशन धेरै महंगो भएको छ, यो घटाउनै पर्छ ।’