शेयर लगानी कर्जा पुनरावलोकनप्रति लगानीकर्ता असन्तुष्ट,गभर्नरलाई ज्ञापनपत्र

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपालको पूँजीबजारका विभिन्न ५ वटा संघ संस्थाहरु र लगानीकर्ताहरुले राष्ट्र बैंकको मौद्रीक नीति लागु भएको ३ महिना नबित्दै शेयर लगानी कर्जा पुनरावलोकन गर्न लागेकाे भन्दै आफुहरुलाई मर्माहत र चिन्तित बनाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धि बुँदा तुरून्त फिर्ता गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरलाई बालुवाटारमा आज बुझाएको ज्ञापन पत्रमा उनिहरुले विगत ४ वर्ष देखि घट्दो क्रममा रहेको नेपालको पुँजीबजारलाई लगानीकर्ताहरूको विभिन्न चरणको आन्दोलनबाट प्राप्त भएको उपलब्धिको रूपमा रहेको ५८ बुँदे सहमतिमा पर्न सफल मार्जिन ल्याण्डिंग बढाउनु पर्ने विषयलाई विगतको राष्ट्र बैंकको मौद्रिक निति मार्फत सम्बोधन भई ७० प्रतिशत कायम गरिएको स्मरण गराईएको छ ।

ज्ञापन पत्रमा लेखिएको छ, ‘भर्खर कोमाबाट निस्किएर विस्तारै आईसियुमा स्थानान्तरण हुँदै गरेको नेपालको पुँजीबजारलाई मौद्रिक निति लागु भएको ३ महिना पनि नबित्दै त्रैमासिक समिक्षाको बुँदा नं ६८ मा शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांशले हामी लगानीकर्ताहरू अत्यन्त मर्माहत र चिन्तित भएका छौं ।’

लगानीकर्ता नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता सरोकारवाला पक्षबिचको वारम्वारको छलफलबाट कार्यान्वयनमा आएको ७० प्रतिशत मार्जिन कर्जालाई अकस्मात परिवर्तन गर्न खोज्नु पूँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारको रूपमा गरिएको निर्णयको रूपमा लिएकाे लगानीकर्ताले दावि गरेका छन् ।

विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत वाहुल्यता रहेका बैंक तथा वित्तीय संस्थाको शेयरको मूल्य र हालको बजार मूल्य २५ देखि ३० प्रतिशत पनि पुग्न सकेको छैन । यो अवश्थामा अकस्मात राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्यो ? भनेर प्रश्न गरिएको छ । नेपालको पूँजीबजारमा वारम्वार मार्जिन कर्जाको सिमालाई तलमाथी पार्ने, बजारलाई अस्थिर बनाउने, सोझा लगानीकर्ताहरूको सम्पत्तिमाथि धावा बोल्दै शेयर बजारमा खेलवाड गर्ने काम बन्द गर्न भनिएको छ ।

ज्ञापनपत्र बुझाउने संघ संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट फाेरमका अध्यक्ष छाेटेलाल राैनियार, शेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पाेखरेल, नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चाैधरी र शेयर लगानीकर्ता दवाव समूहका हरि ढकाल रहेका छन् ।