ओलीको उपस्थितिबिनै नेकपा स्थायी कमिटी बैठक

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धूम्बाराहीमा जारी छ।

बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारीविना बसेकाे हाे । बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलग रुपमा लाने भन्नेबारेमा नेताबीच सहमतिको प्रयास भए पनि ठोस परिणाम आएको छैन ।