प्रभु बैंकद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । कोरोना भाइरसको चपेटा परेका क्षेत्रहरुमध्ये बैंक तथा वित्तीय क्षेत्र पनि एक हो । सिथिल भएर बस्नुभन्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई लागू गरेर अग्रपंतिमा रहेर कार्यक्षेत्रलाई चलायमान बनाउनुको विकल्प उनीहरूले देखेका छैनन् ।

अंग्रेजी नयाँ वर्ष २०२१ को पूर्व सन्ध्यामा नेपालका बैंक तथा वित्तीय क्षेत्रहरुले नयाँ आशा र वित्तीय गन्तव्य सहज ढंगले अगाडी बढ्ने अपेक्षासहित कोरोनाको जोखिमकाबीच दत्तचित्त भएर कामलाई अगाडी बढाइरहेका छन् । उनीहरुले वित्तीय विवरण सार्वजनिकीकरणकासाथै साधारण सभा र लाभांश घोषणा गरिरहेका छन् ।

यहीबीचमा प्रतिष्ठित बैंक प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संचालक समितिको आईतवारको बैठकले १० प्रतिशत बोनस शेयर तथा ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंककाे स्वीकृती र प्रभु बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।

प्रभुको प्रतिशेयर मूल्य ३२ रुपैयाँ ९६ पैसा रहेको छ । प्रतिशेयर कुल मूल्य १५५ रुपैयाँ ३० पैसा रहेको छ । प्रभु बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ । लाभांश वितरण गरेपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख हुने भएको छ ।