राष्ट्र बैंकका क्याडर चापागाईं, जसले बीमा क्षेत्रलाई चम्काए

-



     रेबिका आचार्य    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । नेपालमा बीमा कारोबार शुरु भएको ७० वर्षभन्दा बढी भइसक्यो । तर पनि ४ वर्ष अघिको बीमा क्षेत्रको अवस्था हेर्ने हो भने निकै दयनीय छ । पछिल्ला ४ वर्षमा सुधारका कामहरु भने धेरै भएका छन् । सानो देशमा बीमा कम्पनीहरु थोरै भएर पहुँच कम भएको चाहिँ होइन । नेपालमा अहिले ३९ वटा बीमा कम्पनीहरु क्रियाशील छन् । तैपनि बीमाको पहुँच १० प्रतिशत मात्र छ । यस्तो किन भयो ? सरोकारवालाहरुले भनेजस्तो जनतामा बीमाप्रति चेतना नभएकाले यस्तो भएको हो ? वा, वीमा कम्पनीहरुमाथि नै जनविश्वास आर्जन हुन नसकेर यस्तो भएको हो । अथवा नियामक निकाय बीमा समितिले राम्रोसँग काम गर्न नसकेकाले यस्तो भएको पो हो कि ? यसबारे पर्याप्त बहस भएको छैन ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति हो । नेपालमा सञ्चालनमा रहेका ३९ बीमा कम्पनी र एक पुनर्बीमा कम्पनीको नियमन गर्ने अधिकार बीमा समितिलाई नै छ । बीमा समितिको नेतृत्व भने अहिले चिरञ्जीवि चापागाईले गरिरहेका छन् ।

चापागाईं नेपाल राष्ट्र बैंकका क्याडर हुन् । करिब २ दशक केन्द्रीय बैंकमा विताएका उनलाई ४ वर्ष अघि सरकारले बीमा समितिका अध्यक्षमा नियुक्त गरेको थियो । बीमा क्षेत्रको उनले नेतृत्व गर्दै गर्दा ७ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा थिए । अर्थात ९३ प्रतिशत नागरिकमा बीमाको पहुँच पुग्न सकेको थिएन । तर अहिले बीमामा नागरिकको पहुँच २५ प्रतिशत हाराहारीमा पुगिसकेको छ ।

बोलि होइन काममा विस्वास गर्ने व्यक्ति

समितिको अध्यक्ष नियुक्त हुँदै गर्दा चापागाई ्नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका प्रमुख थिए । चापागाई त्यसबेला करिब २ दशकदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनले बैंकिङ नियमन बिभागमा पनि केही वर्ष बिताए । बाग्लुङ स्थायी घर भएका चापागाईं राष्ट्र बैंकभित्र पनि सबैसँग मिलनसार ब्यक्तिका रुपमा चिनिन्थे ।

सरल स्वभाव भएका चापागाईं आफूले यो गरें उ गरें भनेर बोल्न रुचाउँदैनन् । बोलि होइन काममा विस्वास गर्ने उनको स्वभाव छ । चापागाईं अध्यक्ष हुँदासम्म बीमा समितिमा आन्तरिक बिवादहरु देखिएनन । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्तावमा ०७३ पुसमा मन्त्रिपरिषद बैठकबाट चापागाईले बीमा समितिको अध्यक्षमा नियुक्ति पाएका थिए ।


तत्कालिन अर्थमन्त्री महराले शुरुमा समितिका लागि डा. रवीन्द्र घिमिरे, रमेशकुमार भट्टराई र चापागाईंसहित तीनजनाको नाम सिफारिस गरेको थियो । बैंकिङ क्षेत्रको नियमनकारी निकाय राष्ट्र बैंकमा लामो समय काम गरेका चापागाईंले राष्ट्र बैंकजस्तै अर्को नियमनकारी निकायको नेतृत्व लिँदा बीमा क्षेत्रमा धेरै सुधार हुने अपेक्षा गरिएको थियो । समितिको नेतृत्वमा चापागाईं आएपछि बीमा क्षेत्रमा केही सुधारका प्रयाससमेत देखिने गरी भएका छन् ।

बीमा क्षेत्रमा सुधार

२००३ सालमा विराटनगरमा जुट मिल स्थापनापछि त्यसको आर्थिक सुरक्षणका लागि बीमाको आवश्यकता महसुस गरिएको जानकारहरु बताउँछन् । त्यसपछि नेपालमा शुरु भएको बीमा व्यवसाय ७० वर्ष पुग्न लाग्दा पनि बिस्तार हुन नसकेको भन्दै अघिल्लो वर्षसम्म बीमा समितिको आलोचना हुने गरेको थियो । जानकारहरुका अनुसार नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा बीमा कम्पनी खुलेको थियो । यो संस्था नेपाल कम्पनी ऐनअन्तर्गत नेपाल बैंकको पाँच लाख मूलधन र पूर्ण स्वामित्वमा स्थापना भएको थियो ।

त्यसको १२ वर्षपछि २०१६ सालमा बीमा कम्पनी खारेज गरेर नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी खोलियो । त्यसबेलासम्म नेपालमा भारतीय बीमा कम्पनीहरुले बीमा गर्ने चलन थियो । भारतीय कम्पनीहरुले २०२५ सालमा काठमाडौंमा शाखा विस्तार गरेर बीमा व्यवसाय चलाए । उनीहरुले बीमा व्यवसाय बढाएपछि रुवि जनरल इन्स्योरेन्स कम्पनी, हालको नेसनल इन्स्योन्स, स्थापना गरियो । सरकारले राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ ल्याएपछि बीमा संस्थान स्थापना भयो, जसले २०२९ सालदेखि जीवन बीमा व्यवसाय शुरु ग¥यो । बीमा कम्पनीहरुलाई निर्जीवन र जीवन बीमा भनियो, बीमा कम्पनीहरु थपिँदै गए । अहिले जीवन बीमा र निर्जीवन बीमा गरी ३९ कम्पनी सञ्चालनमा छन् ।

४ वर्ष अगाडिसम्म बीमामा नागरिक पहुँच ७ प्रतिशत रहेको बीमा समितिले बताउने गरेको थियो । २०७३ पुसमा समितिका अध्यक्षको दोस्रो कार्यकाल पूरा गरेर बाहिरिएका डा. फत्तबहादुर केसीले नयाँ बीमा कम्पनी सञ्चालनका लागि परेका केही आवेदनलाई यथावत अवस्थामा राखेका थिए । केसीपछि नेपाल राष्ट्र बैंकको निर्देशक चिरञ्जीवि चापागाईं बीमा समितिका अध्यक्ष नियुक्त भए । बैंकिङ क्षेत्रको नियमनकारी निकाय राष्ट्र बैंकको पोखरा कार्यालय प्रमुखमा बहाल रहेकै बेला बीमा क्षेत्रको नियामकको नेतृत्व गर्न आइपुगेका चापागाईंले अनुमतिको पर्खाइमा रहेका बीमा कम्पनीहरुलाई धमाधम लाइसेन्स दिए । त्यसबापत उनले आलोचनासमेत खेप्न परेको थियो ।


चापागाईंको कार्यकालमा नौवटा निर्जीवन बीमा कम्पनी र १० जीवन बीमा कम्पनीले लाइसेन्स पाएर ब्यवसाय शुरु गरे । उनीहरुले आफ्नो ब्यवसाय बढाउन गाउँगाउँमा पुगेर बीमा गर्न प्रोत्साहन गरे । अहिले बीमामा नागरिक पहुँच बढ्नुमा ती कम्पनीहरुको महत्वपूर्ण भूमिका छ । बीमा समितिका अध्यक्ष चापागाईं पहुँच वृद्धिमा ध्यान नदिएको भए सुधार नहुने बताउँछन् ।


चापागाईंले आफ्नो कार्यकालमा पहुँच विस्तारलाई नै जोड दिए । उनले गरेका काम बारे अरुले पनि मूल्यांकन गरेकाे बताउँछन् । पछिल्लो समय आएको कोरोना बीमा योजनाका कारण बीमा समितिले केहि आलोचना खेप्नु पर्यो । तर यहाँ बीमा समिति होइन बीमा कम्पनीहरुको कमजोरी थियो । भुक्तानीमा ढिलाइ भएपछि सर्वसाधारणले आलोचना गरे । तर यो ढिलाई नियमनकारी निकायले होइन कम्पनीहरुले गरेका हुन् । यद्यपि, अहिले पनि बीमा समितिले कम्पनीहरुलाई चाडो भुक्तानीका लागि झक् झकाउने काम गरिरहेको छ ।

‘बीमा क्षेत्रको सुधारका लागि हामीले जे जति गर्यौ, त्यो सबैका लागि थियो’ अध्यक्ष चापागाईं भन्छन्, ‘धेरै सुधार भएकै छन्, म मेरो व्यक्तिगत तर्फबाट अझै पनि बीमा क्षेत्रको सुधारका लागि सधै तयार छु ।’