डेपुटी गभर्नर बन्न शुरु भयो दौडधुप, को–को छन् प्रतिष्पर्धामा ?

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्नका लागि यतिबेला आधा दर्जन कार्यकारी निर्देशकहरुको दौडधुप शुरु भएको छ । आगामी फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नरकाे पद रिक्त हुँदैछ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पाँच बर्षे कार्यकाल पुरा गरेर अवकाश हुँदैछन् । नयाँ डेपुटी गभर्नर बन्नका लागि निकै योग्य, क्षमतावानसँगै चाप्लुसीमा नम्बरवानहरु समेत प्रतिष्पर्धामा छन् ।

नेपाल राष्ट्र बैंक उच्च श्रोतका अनुसार अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भएका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना, भुक्तानी प्रणाली विभागका भुवन कँडेल, कार्यकारी निर्देशक बमबहादुर मिश्र लगायत डेपुटी गभर्नरका आकांक्षीका रुपमा छन् ।

यहाँ भएकाहरु मध्ये डा. प्रकाशकुमार श्रेष्ठ लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनको सम्भावना अत्यधिक रहेको राष्ट्र बैंक श्रोत बताउँछ । उता देवकुमार ढकाल र डा. गुणाकर भट्ट पनि उत्तिकै योग्य ब्यक्ति हुन् । अध्ययन अनुसन्धानमा राम्रो ज्ञान भएका उनीहरुले शत्तिः केन्द्रमा निकटता बढाए पनि त्यति धेरै दौडधुप गरेका छैनन् ।

उता भुक्तानी प्रणाली विभागमा कार्यरत कँडेल भने बोलीले ठिक्क पार्ने स्वभावका मानिन्छन । उनी भने जोडताेडले डेपुटी गभर्नर बन्न लागि परेका छन् । अन्य प्रतिष्पर्धीहरु पनि आफू निकटका नेताहरुलाई रिझाउने तयारीमा रहेकाे स्राेतले बताएकाे छ ।