इन्फ्रास्टक्चर बैंकले अहिलेसम्मकै ठूलो ८ अर्बकाे शेयर ल्याउँदै, अनुमतिका लागि धितोपत्र बोर्ड पुग्याे

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । नेपाल इन्फ्रास्टक्चर बैंकले अहिलेसम्मकै ठूलो आकारको शेयर निष्काशनका लागि धितोपत्र बोर्ड समक्ष अनुमति मागेको छ । मंसिर ३ गते सम्पन्न भएको कम्पनीको साधारण सभाले शेयर निष्काशनको प्रस्ताव पारित गरेपछि बैंक सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया थालनि गर्न धितोपत्र बोर्डमा ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको शेयर निष्काशन गर्नकाे लागि अनुमति मागेकाे हाे ।

नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्टक्चर बैंकमा नेपाल सरकारको पनि लगानी रहेको छ । बैंकद्वारा निष्काशन गर्न लागिएको शेयर पनि अहिलेसम्मकै सबैभन्दा ठूलो हुने भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंकको अधिकृत पूँजी ४० अर्ब रहेको छ । जारि पूँजी २० अर्ब तथा चुक्ता पूँजी १२ अर्ब रहेको छ । सर्वसाधारणको लागि शेयर बिक्री भएपछि बैंकले चुक्ता पूँजी २० अर्ब हुने बताएको छ ।

नेपालको पूर्वाधधार विकासका क्षेत्रहरुमा विशेषतः जलविद्युतका क्षेत्र, सौर्य उर्जा, होटल, रिसोर्ट, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक लगानी गर्ने उदेश्यले स्थापना गरिएको बैंकले परियोजननाहरुको लागि मुलुकभित्र र बाहिरबाट लगानी जुटाएर काम गर्ने भएको छ ।

यसको रजिष्टर्ड कार्यालय काठमाडौंको बानेश्वरमा रहेको छ । नेपालको केन्द्रीय बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा काम गर्न २०७५ साल माघ २८ गते स्वीकृति पाएको बैंकले स्थापनाको एक महिनापछि अर्थात फागुन २२ गतेदेखि बैंकिङ्ग सेवा शुरु गरेको थियो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेकाे छ ।