कोरोना संक्रमण जोखिमबीच पाेखरामा विद्यालय खोल्ने तयारी

-



     सफल आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ मंसिर । कास्की जिल्लामा हाल झण्डै ४ हजार जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । यो भनेको गण्डकी प्रदेशका ११ जिल्लामध्ये करिब ७२ प्रतिशत कास्कीमै छन् । कोरोना संक्रमण दर कायमै छ । घटेको छैन । प्रदेशमा १२ हजार ९ सय ७६ संक्रमितमध्ये सक्रिय संक्रमित ५२ सय ३९ जना छन् ।

गएको २४ घण्टामा पनि कास्कीमा ६९ जना संक्रमित थपिए । पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा कुल ५७ सय १७ जना संक्रमित पुगेकोमा सक्रिय संक्रमित ३७ सय ३७ छन् । निको हुने १ हजार ८ सय ८३ जना छन् ।

कोरोना संक्रमणको जोखिमबीच कास्कीमा विद्यालय संचालन तयारी थालिएको छ । कोरोना भाइरस महामारीका कारण गत चैतदेखि यहाँका विद्यालय पनि बन्द हुँदै भएका हुन् । पोखरा महानगरपालिकाले विद्यालय संचालनसम्बन्धी ढाँचा तयार गरेपछि सरकारी तथा निजी विद्यालयहरु खुलाउने तयारी भएको हो ।

महानगर शिक्षा महाशाखाले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न थालेको महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

महाशाखाबाट जारी स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय संचालन कार्यढाँचा–२०७७ मा उल्लेखित मापदण्डसहित पछिल्लो मोडालिटीअनुरुप प्रत्येक विद्यालयले अनिवार्यरुपमा विद्यालय संचालन कार्ययोजना बनाइ महाशाखामा पेस गर्ने शर्तमा विद्यालय नियमितरुपा संचालन गर्न भनिएको हो । यसअघि महानगरमा केही दिनअघि सर्वदलीय बैठकसमेत बसेको थियो । पढाइ सञ्चालनसम्बन्धी कार्ययोजना पुस १ भित्रै पेस गर्न भनिएको आचार्यले बताए ।

महाशाखा प्रमुख आचार्यका अनुसार कोभिड–१९ को जोखिम न्यून रहेका, विद्यार्थी संख्या न्यून भएका, विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गरेका र विद्यालयको भौतिक अवस्थाले भौतिक दूरी कायम गर्न सक्ने भएमा सम्बन्धित वडा कार्यालयमा विद्यालय संचालनसम्बन्धी कार्ययोजना पेस गरी नियमित रुपमा विद्यालयमै पढाइ संचालनको तयारी थालिएको छ ।

महानगरद्वारा विद्यालयले भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाइ कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एउटै समयमा सञ्चालन गर्न सम्भव नभए फरक दिनमा फरक कक्षा कोठामा पढाउने, एउटा सिफ्टमा दैनिक अधिकतम् ४ घण्टामात्र कक्षा सञ्चालन गर्ने भनिएको छ । यसो गर्दा कोभिड–१९ स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सर्त मापदण्ड तोकिएको छ ।