‘कोरोनाबाट नेपाली र नेपालको अर्थतन्त्र जोगाउने तर्फ नै सरकारको ध्यान केन्द्रित छ’

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाबाट नेपाली र नेपालको अर्थतन्त्र जोगाउने तर्फ नै सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौ महासभा तथा अधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’

अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन् त्यसबाट अब हामीले कसरी बाहिर निस्किन सक्छौँ र पहिलाकै अवस्थामा फर्कन सक्छौँ भन्ने चुनौतीपुर्ण प्रश्न खडा भएको बताए । महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको पनि उनले बताए ।