देशको आर्थिक अवस्था सुधारोन्मुख छः गभर्नर अधिकारी

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोरोनाका कारण अर्थव्यवस्थामा निकै ठूलो असर परेको र अहिले त्यो सुधार हुँदै गएको बताएका हुन् ।

नेपालको आर्थिक वृद्धिदर कस्तो रहन्छ भन्नेबारे अहिले नै केहि बोल्न नसकिने गभर्नर अधिकारीले बताए । गत वर्षको तुलनामा आयात घटेको पनि उनले बताए । आयात घटेकोले पनि सहज भएको भन्दै उनले जुनखालेको त्रास थियो त्योभन्दा राम्रो देखिएको बताए ।

बैंक वित्तीय संस्थाको खर्च बढे पनि अन्य क्षेत्रमा हामी त्यती समस्यामा नरहेको गभर्नर अधिकारीको भनाई छ । आर्थिक वृद्धिदर कसरी अगाडी बढ्छ भन्न विषयमा अनिश्चितता व्यक्त गर्दै उनले भने, ‘रिकभरी कसरी हुन्छ त्यसमा नै आर्थिक वृद्धिदर निर्भर हुन्छ । अहिले नै केहि भन्न सकिदैन ।’

उनले भने, ‘कोभिडले हामीलाई समस्या बनाएको अवस्था छ । आर्थिक रुपले हेर्दा प्रभावित छ । कतिपय सेक्टरमा सोचेभन्दा राम्रो रिकभरी आएको अवस्था छ । कतिपय क्षेत्रमा वर्षैंसम्म रिकभरी आउने सम्भावना छैन ।’